अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी

८ पुस, सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी नभएको अनुसन्धान टोलीले सोमबार जनाएको छ ।

योलले ११ दिनअघि दक्षिण कोरियामा सैनिक कानुन मार्शल ल को घोषणा गरेको थिए । यद्यपि, उनले विपक्षी डेमोक्र्याटिक पार्टी र दक्षिण कोरियाली नागरिकको व्यापक विरोधका कारण उक्त कदमलाई केही घण्टामा नै फिर्ता लिन बाध्य भएको थिए ।

यसै घटनालाई लिएर गत डिसेम्बर १४ मा दक्षिण कोरियाली संसद्ले उनलाई महाभियोग लगाउँदै पदबाट हटाएको थियो ।

दक्षिण कोरियाका विश्वभरका प्रजातान्त्रिक मित्रराष्ट्रहरूलाई स्तब्ध पार्ने नाटकका कारण युनमाथि महाभियोग र विद्रोहको फौजदारी अभियोग लागेको छ । यो अभियोगका कारण उनलाई आजीवन जेल सजाय वा मृत्युदण्डको सजाय समेत हुन सक्छ।

युनको अल्पकालीन सैनिक शासन घोषणाको अनुसन्धान गरिरहेको भ्रष्टाचार विरोधी निकायले उनको कार्यालय र निवासमा पत्राचार गर्दै अनुसन्धानका लागि उपस्थित हुन दुई पटकसम्म परिपत्र गरेको जनाएको छ । “हुलाक प्रणालीले राष्ट्रपति कार्यालयले उपस्थितिका लागि गरिएको परिपत्र बुझ्न ‘अस्वीकार’ गरेको देखाउँछ,” अनुसन्धानकर्ताहरूले एक विज्ञप्ति जारी गरी बताएका छन् ।