१४ पुस, ललितपुर । वन तथा वातावरणमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही ठकुरीले चिडियाखानालाई विस्तार गर्दै वन्यजन्तुमैत्री वातावरण सृजना गरी वन्यजन्तु संरक्षणमा सबै लाग्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनको २९औँ वार्षिकोत्सवका अवसरमा आज जावलाखेलमा आयोजित समारोहमा मन्त्री ठकुरीले सदर चिडियाखानाको विस्तार गर्दै पूर्वाधार विकासमा संरक्षण साझेदार र विज्ञहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।
“चिडियाखानालाई विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्राणी उद्यान बनाउन भक्तपुरको सूर्यविनायकमा काम भइरहेको छ, १४ अर्बको लागतको विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार भएको छ, यो कामलाई पूर्णता दिन सरकार गम्भीर रूपले लाग्नेछ, यसमा जनप्रतिनिधिहरूको निरन्तर सहयोग आवश्यक छ”, मन्त्री ठकुरीले भने । उनले नेपाललाई प्रकृतिमय र सम्भावनाको केन्द्रका रूपमा विकास गर्दै वनलाई सम्भावना र समृद्धिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
वनमन्त्री ठकुरीले चिडियाखानाको व्यवस्थापन कोषले गर्नेगरी निर्णय भएको भन्दै सोको कार्यान्वयन प्रयोजनका लागि सम्झौता भइसकेकाले सदर चिडियाखानाको आगामी व्यवस्थापनमा कोषलाई सफलता मिल्नेछ भन्ने विश्वास व्यक्त गरे ।
“कोषको अध्यक्षका रूपमा सदर चिडियाखानाको व्यवस्थापनमा कोषले गर्दै आएका विविध कार्यक्रमहरूलाई नजिकबाट नियाल्ने अवसर पाएको छु, विगत २९ वर्षको अवधिमा चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन, संरक्षण शिक्षा र आगन्तुकहरूका लागि मनोरञ्जन प्रदान गर्ने कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको छ”, उनले भने ।
मन्त्री ठकुरीले चिडियाखानाले वन्यजन्तुको उद्धार, उपचार र पुनःस्थापनामा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूसँग सहकार्य गरी उल्लेख्य भूमिका निर्वाह गरेकामा प्रशंसा गरे ।
“चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण भएपश्चात् वन्यजन्तुको सम्पूर्ण बासस्थानको पुनर्निर्माण, एम्बुलेन्स र दक्ष जनशक्ति सहितको वन्यजन्तु अस्पताल सञ्चालन, वन्यजन्तुहरूलाई पोषणयुक्त दाना आहाराको सुनिश्चितता गरिनुका साथै वन्यजन्तुको कल्याणकारी व्यवस्थालाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरू हुँदै आएको मैले पाएको छु”, उनले भने ।
मन्त्री ठकुरीले परिवेशअनुसार प्रकृतिको संरक्षण गर्दै जलवायु परिवर्तनको असरको न्यूनीकरण गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ भन्ने धारणा राखे । उनले विसं २०७१ कात्तिक २ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम आगामी ३० वर्षका लागि कोषलाई चिडियाखानाको व्यवस्थापन गर्ने जिम्मेवारीसहितको सम्झौता भएकामा खुसी व्यक्त गरे ।
“नेपाल सरकारले सातवटै प्रदेशमा प्राणी उद्यान एवं वनस्पति उद्यान निर्माण गर्ने नीति लिएको छ, यस प्रकारका उद्यान निर्माणमा कोषले प्राविधिक एवं आथिक रूपमा वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गर्नसक्ने आधारहरू छन् । आगामी ३० वर्षको अवधिमा चिडियाखानाले आफूलाई ‘हेरिटेज जु’का रूपमा विकास गरी ऐतिहासिक महत्वसहित छुट्टै पहिचान स्थापित गर्न सक्नुपर्दछ । यस चिडियाखानालाई आगामी दिनमा यहाँ रहेका वन्यजन्तुहरूलाई अन्तर्राष्ट्रिय मापदण्डबमोजिम बासस्थानको सुनिश्चितता गर्न, वन्यजन्तु अस्पतालको स्तरोन्नति, वन्यजन्तुको उद्धार तथा अन्य चिडियाखानाको क्षमता अभिवृद्धिमा सहयोग गर्नसक्ने गरी केन्द्रीय स्रोतका रूपमा विकास गर्न म कोषका सदस्य सचिव र कोषको सम्पूर्ण समूहलाई निर्देश गर्दछु”, वनमन्त्रीले ठकुरीले भने ।