सुदूरपश्चिम

पृथ्वीजयन्तीका अवसरमा वक्तृत्वकला प्रतियोगिता

२३ पुस, बैतडी । नेपाली सेनाले बैतडीका विद्यालयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । ३०३औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा यहाँस्थित श्रीबक्स गुल्मले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

शाहिलेकस्थित वीरेन्द्र माविमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीको सहभागिता रहेको श्रीबक्स गुल्मका गुल्मपति, सेनानी मधुसुदन केसीले जानकारी दिए ।

उक्त विद्यालय र श्रीबक्स गुल्मको संयुक्त आयोजनामा भएको प्रतियोगिताको शीर्षक राष्ट्रनिर्माता, राष्ट्रियताको प्रतीक श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाह रहेको थियो । प्रतियोगितामा सहभागी भएकामध्ये उत्कृष्ट पाँच जना छात्रछात्रालाई नगद पुरस्कारसहित स्टेसनरीका सामग्री वितरण गरिएको छ । प्रथम हुनेमा हसिना ओड, द्वितीय ज्योति पाण्डेय, तृतीय पूजा पाण्डेय, चौथो शिक्षा थापा र पाँचौँ स्थान भावना खत्रीले हासिल गरे ।

विद्यार्थीको अतिरिक्त क्रियाकलापसँगै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानकाबारेमा जानकारी दिन प्रतियोगिताको आयोजना गरिएको सेनानी केसीले बताए।

हरेक वर्ष पुस २७ गतेका दिन पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ । नेपाली सेना पछिल्लो समय विभिन्न सामाजिक कार्यमा पनि सहभागी हुन थालेपछि यहाँका नागरिक खुसीसमेत भएका छन् ।