५ माघ, कञ्चनपुर । जहाँ इच्छा, त्यहाँ उपाय भन्ने भनाइलाई शुक्लाफाँटा नगरपालिका–१० झलारीका २९ वर्षीय भागिराम चौधरीले जीवनमा चरितार्थ गरेका छन्। पक्षघात जस्तो जटिल रोगसँग लड्दै उनी यतिबेला विद्युतीय मेसिन र उपकरण मर्मतसम्बन्धी पसल सञ्चालन गरी परिवारको खर्च सहज रुपमा जुटाउँदै आएका छन् ।
एक दशकदेखि काम गरिरहेका चौधरीले यही कामबाट मासिक औसतमा रु ४० हजार आम्दानी भइरहेको सुनाए । मुक्तकमैया परिवारका सदस्य चौधरीले दातृ निकायको सहयोगमा मेसिन–उपकरण मर्मतसम्बन्धी तालिम लिएपछि पसल सुरु गरेका हुन्।
“केही महिना जागिर गरे, मेसिन–उपकरण मर्मतमा दक्ष बनेपछि केही पैसा लगानी गरी आफ्नै पसल सुरु गरेको हुँ, अहिले अरुसँग सहयोग माग्नु परेको छैन”, उनले भने । परिवारको सबै खर्च पसलको कमाइले धानिँदै आएको चौधरीले बताए । सुरुमा रु पाँच हजार लगानी गरी पसल सञ्चालन गरेका चौधरीको पसलमा अहिलेसम्म रु पाँच लाख लगानी भइसकेको छ ।
पसलको कमाइबाटै चौधरीले पक्की घर बनाएका छन्। “घुँडा मुनिको भाग नचल्ने भएकाले ह्वीलचेयरमा हिँडडुल गर्नुपर्ने अवस्था थियो”, चौधरी भन्छन्, “ग्राहकको घरसम्म जानु पर्दा निकै असहज हुन्थ्यो, अहिले रु दुई लाख ८० हजार खर्चेर अपाङ्गमैत्री स्कुटर खरिद गरेको छु ।” अहिले उनी सोही स्कुटरमा ग्राहकका घरघरमा सामान मर्मतका लागि पुग्छन् । यसले आम्दानी पनि राम्रो भएको उनको भनाइ छ ।
चौधरीले विद्युत्का मेसिन उपकरण मर्मत गर्न सिक्न चाहने युवालाई निःशुल्क रुपमा सिकाउँदै पनि आएका छन् । उनलाई शुक्लाफाँटा नगरपालिका–१० ले विद्युतीय मोटरमा तार भर्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ ।
वडाध्यक्ष लालबहादुर ऐरले चौधरीलाई प्रोत्साहन गर्न सहयोगथ गरेको बताए । “अपाङगता भएका व्यक्ति पनि राम्रो काम गरेर राम्रो आम्दानी गर्न सक्छन् र यो अरुका लागि प्रेरणा बन्न सकोस् भनेर अनुदान उपलब्ध गराइएको हो”, उनले भने । अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकताका आधारमा व्यावसायिक गर्नका लागि तालिमसँगै अनुदानका कार्यक्रम सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।