समाचार

वडाध्यक्ष मियाँको निधन

१९ माघ, नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ ।

आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले बताए ।

राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले उनलाई मृत घोषित गरेका सदस्य गिरिले बताए ।

सैतीस वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट निर्वाचित भएका थिए ।