समाचार

रविलाई सङ्गठित अपराधको मुद्दा नचलाएको भन्दै सरकारी वकिलमाथि छानबिन सुरु

२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सङ्गठित अपराधको कसुरमा मुद्दा नचलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा न्यायाधिवक्ता शान्तिराम लुइँटेल माथि महान्यायाधिवक्ताको कार्यालयले छानबिन सुरु गरेको हो। 

लामिछाने माथि दर्ता भएको अभियोगपत्रलाई लिएर छानबिन गर्न समिति समेत बनाइएको छ। नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। ठगी कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु गरिएको महान्यायाधिवक्ता कार्यालयले पुष्टि गरेको छ। 

साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी बनाइएका लामिछानेलाई वकिल लुइँटेलले सङ्गठित अपराधमा नभई ठगी कसुरमा मात्रै मुद्दा चलाउने निर्णय गरेका थिए। वकिल लुइँटेलले लामिछानेले पोखरा र बुटवलबाट आफैँ ऋण लगेको देखिएकाले ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैँले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको भन्दै स्वविवेक प्रयोग गरेर ठगी मुद्दा मात्रै दर्ता गरेका थिए। 

लामिछानेमाथि दायर गरिएको अभियोग पत्रमा लामिछानेले ८१४ वटा चेक काटेको विवरण उल्लेख गरिएको छ। साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी लामिछानेको एकल हस्ताक्षरबाट खर्च भएको पत्रमा भनिएको छ ।