राजनीति

सामाजिकसञ्जाल नियमन बारे बोल्दै सचिव भट्टराईले भने- सामाजिक सञ्जाल चलाउनेले स्वनियमनमा बस्नु पर्छ

फाइल तस्विर

२३ माघ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुको सट्टा त्यसको नियमन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

बुधबार अनलाइन टिभी पत्रकार संघको आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले भने, सामाजिक सञ्जाल चलाउनेले स्वनियमनमा बस्नु पर्छ, अन्यथा सरकारले नियन्त्रण गर्नुपर्ने हुन्छ।

उनले थपे, “दण्ड सजायको उद्देश्य होइन, स्वनियमन हो, जबकि कानुनमा दण्डको व्यवस्था पनि छ । भट्टराईले भने कि केही देशहरूमा तोकिएका उमेर समूहका व्यक्तिहरूलाई सामाजिक सञ्जाल चलाउन नदिइने व्यवस्था गरिएको छ, र ती मुलुकहरूमा दण्ड सजाय पनि कडा छ।”

सामाजिक सञ्जालबाट संविधानले व्यवस्था गरेकोभन्दा विपरीतका सन्देश जानु नहुनेमा उनले जोड दिए । समाजलाई भड्काउने र राष्ट्रियतालाई धरापमा पर्ने अधिकार कसैलाई नभएको भट्टराईले जोड दिए ।

सामाजिक सञ्जालमा व्यक्तिको मानहानी वा क्षतिपूर्ति भएमा त्यसको उचित सजाय हुनुपर्ने उनले जनाए। उनले सबैलाई आग्रह गरे कि, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राष्ट्र, राष्ट्रियता र सामाजिक एकतामा ध्यान दिनुपर्छ, र रचनात्मक काम गर्नुपर्छ।

सामाजिक सञ्जाललाई संविधानका विपरीत प्रयोग नगर्नको लागि उनले जोड दिए र यसलाई व्यवस्थापन गर्ने विधेयकलाई आवश्यक रहेको बताउँदै सबैलाई मिलेर समृद्ध बनाउनका लागि काम गर्न आग्रह गरे।