राजनीति

गगनले भने : म जहाँ छु, शेखर डा. साब पनि त्यहीँ हुनुहुन्छ

२३ माघ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र चलिरहेका अड्कलबाजी र टाढिएको भनाइलाई स्पष्ट पार्दै, आफू अझै पनि १४औं महाधिवेशनको समयमा बनेको समूहमै रहेको बताएका छन्।

नेता डा. शेखर कोइरालासँगको सम्बन्धबारे उठेका प्रश्नहरूलाई चिर्दै उनले ‘जहाँ म छु, शेखर डा. साब पनि त्यहीँ हुनुहुन्छ भन्ने धारणा राखेका छन्।

पोखरामा बुधबार पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘पार्टीमा समूह बनिन्छन्, तर मेरो भूमिका सिंगो संगठनको हो। जिम्मेवारी पनि पार्टीकै हो, सबैलाई समेट्ने मेरो प्रयास स्वाभाविक हो। तर जहाँ समूहको कुरा आउँछ, १५औं महाधिवेशनसम्म म र शेखर कोइराला एउटै ठाउँमा छौं।’

उनले नेतृत्वको प्रश्न व्यक्तिगत निर्णयको विषय हुने बताए। ‘रहने न रहने कुरा आ-आफ्नो निर्णयमा भर पर्छ, तर मेरो विचारमा समूहको नेतृत्व शेखर कोइरालाकै हातमा छ। उहाँ आज पनि नेता हुनुहुन्छ, भोलि पनि रहनुहुन्छ। यही नेतृत्वमा विश्वास गरेर नै १४औं महाधिवेशनमा महामन्त्रीका लागि प्रतिस्पर्धा गरेको हुँ,’ थापाले भने।

उनको यो भनाइ पार्टीभित्र चलिरहेको आन्तरिक शक्ति सन्तुलन र आगामी १५औं महाधिवेशनलाई लिएर उठेका चर्चाहरूको बीचमा आएको हो। पार्टीभित्र समूहहरू बन्ने र भत्किने प्रकृयालाई उनले स्वाभाविक ठहर्याउँदै, नेतृत्वमा निरन्तरता दिने संकेत गरेका छन्।