राजनीति

अध्यादेश किन ? गगन–विश्वप्रकाशले दिए प्रष्टीकरण……

२४ माघ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेश खराब नियतले नआएको भन्दै त्यसको विषयवस्तुका आधारमा समर्थन वा विरोध गरिनुपर्ने बताएका छन्।

कांग्रेस संसदीय दलको बैठकमा दुई नेताले सरकारले ल्याएका अध्यादेशका अन्तरवस्तुबारे सांसदहरूलाई जानकारी गराएका थिए।

महामन्त्री गगन थापाले खुला र उदार अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने कानुनी सुधारका रूपमा अध्यादेश आएको बताए। उनले भने, ‘हामीले वर्षौंदेखि कानुनी सुधार गर्न खोज्यौं, गर्न पाएनौं वा दिइएन। तर, अहिलेको अध्यादेशले खुला अर्थतन्त्रलाई सहयोग पुर्‍याउने बाटो खोलिदिएको छ।’

थापाले विगतमा सरकारले गलत नियतले ल्याएका अध्यादेशको कांग्रेसले विरोध गरेको उल्लेख गर्दै, यदि अहिले पनि नियतवश ल्याइएको हो भने विरोध हुन्छ, भने।

महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशबारे विज्ञहरूसँग छलफल भएको बताए। उनले भने, ‘संविधान लेख्दा, संसदीय समितिमा र अन्य महत्वपूर्ण कानुनी विषयमा विज्ञहरूको राय लिने गरिन्छ। यस पटक पनि विज्ञको सुझाव अनुसारै विधेयक आएको छ, त्यसैले दलहरूले यसलाई सकारात्मक रूपमा लिनुपर्छ।’

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकबारे कांग्रेस सकारात्मक भए पनि जेल सजाय, जरिवानाको आकार जस्ता प्रावधान भने कांग्रेसलाई स्वीकार्य नभएको शर्माले बताए। उनले संशोधन आवश्यक रहेको भन्दै, ‘डीपफेक, गलत सूचना, साइबर बुलिङ नियन्त्रणका लागि विधेयक आवश्यक छ, तर कानुनी कारबाहीको दायरा स्पष्ट हुनुपर्छ,’ भने।