२४ माघ, धनकुटा । सेवानिवृत्त बेलायती सेना विश्वासदीप तिगेलाले छथर जोरपाटी गाउँपालिका–१ स्थित आफूले अध्ययन गरेको विद्यालय भारती उच्च माध्यमिक विद्यालयका नाममा जग्गा खरिद गरी खेलमैदान, स्टेजलगायतका पूर्वाधार निर्माण गरेका छन्।
पछिल्लो समय बेलायतमै बस्दै आउनुभएका तिगेलाले करिब रु एक लाख ५० हजारमा जग्गा खरिद गरी रु पाँच लाख बराबरको खेलमैदान र स्टेज भवन निर्माण गरेको विद्यालयका प्रधानाध्यापक भीमबहादुर लिम्बूले जानकारी दिए ।
सो संरचनाहरु तिगेलाले गत सोमबार एक औपचारिक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरे । उक्त संरचनाको उद्घाटन छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता खेवाले गरे । खेलमैदान र स्टेज भवनको कागजपत्र जग्गादाता तिगेला र धर्मपत्नी भोजकुमारी थोक्लेनले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमकुमार लिम्बू र प्रधानाध्यापक भीमबहादुर लिम्बूलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष खेवाले विद्यालयको सुधार र उन्नतिका लागि सहयोग गर्ने तिगेलालाई धन्यबाद दिए । विद्यालय व्यवस्थापन समितिले उक्त खेलमैदानलाई विश्वासदीप तिगेला खेलमैदान नामकरण गरेको प्रधानाध्यापक लिम्बूले बताए ।