२५ माघ, काठमाडौँ । गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग उठेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारमाथि गृहमन्त्री र महानिरीक्षककै निर्देशनमा अत्याचार भएको भन्दै छानबिन हुनुपर्ने माग राखेका हुन्।
सांसद ज्वालाले भने ,‘सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैधता दिएको छ । तर, उक्त दम्पतीलाई मुम्बईबाट समेत पक्राउ गरेर ल्याएर यातना दिनका लागि अत्याचार गर्नका लागि निर्देशन दिने गृहमन्त्री, आइजिपी लगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु।,’
सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले एक स्वरमा यस घटनाबारे हिजो बसेको संसद् बैठकमा पनि गम्भीर ध्यानाकर्षण गराएका थिए । आजको बैठकमा सांसद ज्वालाले गृहमन्त्री र आइजिपीमाथि छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखेका हुन्। ।