राजनीति

धरानका मेयर साम्पाङले दिए काँग्रेस नेता विश्वकर्माविरुद्ध अख्तियारमा उजुरी (पत्र सहित) 

२५ माघ, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले काँग्रेसका नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । 

काँग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने साम्पाङले माग गरेका छन् ।

विश्वकर्माले एक टिभी अन्तर्वार्तामा एडिबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानगरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङले दिएको उजुरीमा उल्लेख छ ।

बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने र हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न भन्दै उनले अख्तियारमा उजुरी दिएका हुन् ।