२९ माघ, काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गरिने भनिएको भ्रष्टाचार विधेयक कार्यसूचीबाट हटाइएको छ। कार्यसूचीबाट भ्रष्टाचार विधेयक हटेपछि संसद् बैठकमा प्रतिपक्ष दलहरूले आपत्ति जनाएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भ्रष्टाचारसम्बन्धी ऐन संशोधन विधेयक संसद्को कार्यसूचीबाट हटेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै माओवादी केन्द्रले आकस्मिक समय लिएर विरोध जनाएको हो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको आग्रहमा विधेयक अगाडि बढाउने कार्यसूची संशोधन गरिएको भनेर गम्भीर आपत्ति जनाएका हुन् । प्रमुख सचेतक पाण्डेले भ्रष्टाचारबारे बाहिर कुरा उठिरहेको बताउँदै सदनमा भ्रष्टाचार सम्बन्धित विधेयक पारित हुने कार्यसूची नै हटाएकोमा असन्तुष्टि जनाएका हुन्। ।
उनले भने ‘कार्यव्यवस्था परामर्श समितिबाट माघ १५ गते संसदीय क्यालेन्डर बनायौँ । हिजो पनि कार्यपालिकाबारे छलफल गर्यौँ । सम्भावित कार्यक्रम पनि आयो । तर, आज यो सूची हटाइयो भन्ने आयो,’ पाण्डेले भने, ‘सरकारले जे–जे भन्यो त्यही त्यही अनुसार गर्नुपर्ने हो ?’
संसदीय समितिबाट पास भएर आएको विधेयक अगाडि बढाउने कार्यसूची अन्तिम समयमा रोकिएको भनेर उनले आपत्ति जनाएका हुन् । संसद्ले बनाएको क्यालेन्डर सरकारले पनि मान्नुपर्ने उनको भनाइ छ ।
यही सहितका उदाहरण प्रस्तुत गर्दै उनले सरकारले संसद्लाई अपहेलना गरिरहेको बताए । ‘संसद्को समग्र क्रियाकलापमा संसद्लाई सरकारले मिनिमाइज गरिरहेको छ । अपहेलना गरिरहेको छ । सरकारले जनताका प्रतिनिधिहरूको आवाजलाई ठिक ढङ्गले सुन्न चाहिरहेको छैन’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले पनि सार्वजनिक दैनिक कार्यसूची बन्दा भ्रष्टाचार सम्बन्धी विधेयक अगाडि बढाउने कार्यक्रम हटेकोमा आपत्ति जनाए । सभामुख सरकारको चाहना अनुसार नभएर आफ्नो विवेकमा चल्नुपर्ने उनको भनाइ थियो।