१ फागुन, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन्। आज ३०औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया नटुङ्ग्याएको कारण देखाएर अदालतले जनयुद्ध शब्द स्थगन गरेपनि यसलाई स्थापित गरेरै छाड्ने बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने,‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठुलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो,’ यसले आज मात्र होइन, सयौँ वर्षसम्म पनि प्रेरणा दिइरहने छ ।’ उनले अघि भने,’यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’ जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो।’

आफूहरू जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा रहेको अध्यक्ष दाहालले बताए। अहिले आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताउँदै यसको मुख्य प्रेरणा जनयुद्ध नै रहेको दाबी समेत गरे।
जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरी तत्त्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले यी सबै प्रयास असफल पार्न आफूहरूले निरन्तर अग्रगमनका लागि सङ्घर्ष गरिरहेको बताए । विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायत उत्पीडित समुदाय र क्षेत्रको एजेन्डामा फर्केको अध्यक्ष दाहालको भनाई छ। ।
जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै अध्यक्ष दाहालले क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन जनयुद्धका सहयात्री लगायत सबै कम्युनिष्ट क्रान्तिकारीहरूलाई एकताको अपिल पनि गरे ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षकोलाई माओवादी केन्द्रले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।