२ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस एमालेको नेतृत्वले संविधान संशोधनको नाममा संविधानलाई उल्ट्याउन खोजेको आरोप लगाएका छन्। आज ३० औँ जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले काँग्रेस एमाले संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताएका हुन्।
अध्यक्ष दाहालले एमाले र काँग्रेसका एकथरि नेतृत्वले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरे बताउँदै भने,’ ‘महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरू संविधान संशोधन होइन, कुनै पनि बहानामा यो संविधान उल्ट्याउन चाहन्छन् ।’
दुई दुई पटक संविधान मिचेर संसद् विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै दाहालले अहिले पनि यो प्रवृत्ति र प्रयास उस्तै रहेको बताए । ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेन्डाको रूपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्’, अध्यक्ष दाहालले भने, ‘यसबाट उनीहरू संविधान संशोधनमा इमानदार छैनन् भन्ने देखिन्छ ।’
विगतमा संसद् विघटन गर्दा लाखौँ जनतालाई सडकमा ल्याएर सङ्घर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको उनको दाबी छ। अहिले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेको बताउँदै अध्यक्ष दाहालले भने यसलाई अझै समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौँ । प्रतिक्रियावादीहरूको षड्यन्त्र विरुद्ध जनतालाई एकताबद्ध गरेर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चाहन्छौँ।’
उनले अब आफ्नो पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउने बताए। राजनीतिक स्थायित्व कायम गर्न र सबै वर्ग र समुदायले पनि थप राजनीतिक अधिकार प्राप्त गर्नको लागी प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जानु पर्ने अध्यक्ष दाहालको भनाइ थियो।