३ फागुन, काठमाडौँ । प्युठानमा काँग्रेसले आफ्नो बारेमा कुप्रचार गरेको भन्दै नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका छन् । नेपाली काँग्रेस प्युठानले ‘जनतासँग कुरा गर्न पनि सूर्य थापासँग अनुमति लिनु पर्ने ?’ भन्दै वक्तव्य जारी गरेपछि उनले फेसबुक स्टाटस मार्फत प्रतिवाद गरेका हुन् ।
प्युठान काँग्रेसले हिजो जारी गरेको व्यक्तव्यमा सांसद थापाले काँग्रेसलाई हेपेर कार्यक्रम नै गर्न नदिने, कर्मचारीलाई थर्काउने, सरुवाको धम्की दिने, घृणा फैलाउने गरी भाषण गर्ने, समानुपातिक सांसदलाई हेप्ने गरेको आरोप लगाएका थिए ।
सांसद थापाले आफ्ना विरुद्ध काँग्रेसले आफ्नै कार्यकर्तालाई प्रयोग गरेर झुटो प्रचार गरिरहेको आरोप लगाएका छन्। उनले लेखेका छन् ,‘नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ।’,
प्युठानबाट निर्वाचित थापाले आफ्नो सामाजिक सञ्जालमा भिडियोसमेत शेयर गरेका थिए। उक्त भिडियोमा एक जना मतदाताले थापालाई आफूहरूले जिताएको तर सडक नबनाइदिएको गुनासो गरेकी थिइन् , तर सांसद थापाले भने ती महिला मतदाता काँग्रेसकै कार्यकर्ता भएको ठोकुवा गरेका छन् ।
सांसद थापाले काँग्रेस प्युठानका सभापति विष्णुकुमार गिरीले जारी गरेको वक्तव्य झूटो, तथ्यहीन भएको बताउँदै आक्रोश व्यक्त गरेका छन्।
