३ फागुन,काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि एमाले र माओवादी केन्द्र लगायतका कम्युनिस्ट पार्टीहरू जतिबेला पनि तयार रहेको दाबी गरेका छन्।
आज संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा नेता रिजालले प्रधानमन्त्री बन्नका लागि देउवाले इच्छा राखेका छन् भन्ने थाहा पाएमा कम्युनिस्ट पार्टीका नेताहरूले त्यो पूरा गर्न तम्तयार रहेको बताएका हुन्। ‘शेरबहादुर देउवाले प्रधानमन्त्री बन्छु भन्नु अघिल्लो दिन नै प्रधानमन्त्री बनाउनका लागि कम्युनिस्ट पार्टीका नेताहरू तयार छन्,’ रिजालले भने ।
उनले काँग्रेसले कम्युनिस्ट पार्टीहरूलाई विगत देखि नै बोक्दै आएको समेत स्वीकार गरेका छन्। नेपालमा एक पार्टीले अर्को पार्टीलाई बोक्दै हिँडेको र त्यसमा काँग्रेस पनि संलग्न रहेको रिजालको भनाइ थियो। उनले भने,’ ‘हामी काँग्रेसले कम्युनिस्टहरूलाई बोकेरै हिँडेका छौँ । विगतमा पनि बोकेका थियौँ, अहिले पनि बोकिरहेकै छौँ,’।
नेता रिजालले नेपालमा सङ्घीय व्यवस्था फरक रहेको धारणा राखे । नेपाल एकात्मक शासनबाट सङ्घीय शासनमा गएको हुनाले राजनीतिक दल, राज्यका निकायहरू पनि त्यसरी नै अगाडि बढ्नुपर्ने र कार्यान्वयनमा जानुपर्ने बताए। सङ्घीयता कार्यान्वयनका लागि सरकारले कानुन निर्माण गर्नुपर्ने उनको भनाइ थियो।