३ फागुन,काठमाडौँ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले संसद्मा पेस गरिएका ६ मध्ये पाँच अध्यादेशलाई अगाडि बढाउने निर्णय गरेको छ । सरकारमा रहेका दलको बालुवाटारमा बसेको बैठकले पाँच अध्यादेश अगाडि बढाउने सहमति गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि फोनमा संवाद भएको र बैठकले अध्यादेशका विषयमा छलफल गरेको हो । उनका अनुसार ‘पाँचवटा अध्यादेश अगाडि बढाउने सहमति भएको छ । पाँच अध्यादेश अगाडि बढाउने सम्बन्धमा उपेन्द्र यादवसँग पनि फोन संवाद भएको साथै छलफलमा पाँचवटा अध्यादेश स्वीकार गरेर अगाडि बढाउने र भूमिसम्बन्धी अध्यादेशका बारेमा छलफल गर्दै जाने भन्ने सहमति भएको ती नेताले जानकारी दिए।
सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, सहकारीसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, निजीकरण (पहिलो संशोधन) र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो ।
सरकारलाई समर्थन गरेको जसपा नेपालले अध्यादेश ल्याउने सरकारको नियतमा प्रश्न उठाउँदै भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय लिएको थियो । जसपा नेपालका प्रथम उपाध्यक्ष तथा अध्यादेश अध्ययन कार्यदलका संयोजक राजकिशोर यादवले भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा नरहेको बताएका थिए ।
भोली आइतबार बस्ने सङ्घीय संसद्को बैठकबाट पाँचवटा अध्यादेशहरू अगाडि बढाउने सम्भावना रहेको बताइएको छ।
आज बसेको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष अशोककुमार राई र महामन्त्री मोहम्मद इस्तियाक राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी थिए ।