राजनीति

प्रधानमन्त्रीलाई हिटलर र मलाई तपाईँ हनुमान हो? भनेर प्रश्न सोधियो: एमाले सांसद थापा 

५ फागुन, काठमाडौँ। नेकपा एमालेका सांसद सूर्य थापाले संसद् भवन परिसरमा रहने मिडियाले जथाभाबी प्रश्न गरेको आरोप लगाएका छन्।  आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद् भवन परिसरमा मिडियाको व्यवस्थापन आवश्यक रहेको बताएका हुन्। 

मिडिया व्यवस्थापनको विषयमा सङ्घीय संसद् सचिवालयले ख्याल गर्नुपर्ने भन्दै सांसद थापाले ‘मिडिया व्यवस्थापन यो संसद्को कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रूपमा जोडिएको छ’ उनले भने ।

सांसदहरूलाई कस्ता प्रश्न सोध्ने ? ती प्रश्न संविधान कानुन बमोजिम हुनुपर्छ कि पर्दैन ? भन्दै थापाले प्रश्न गरेका थिए। उनले भने ,’ती प्रश्नमा गालीगलौज अथवा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाइन्न ?’ 

आफूलाई नै एकजना मिडियाकर्मीले ‘तपाईँ हनुमान हो’ भनी प्रश्न गरेको पनि सांसद थापाले बैठकमा सुनाएका थिए। 

आफूले यस्तो भोग्दै आएको र हिजो आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आरोपित गर्ने गरी प्रश्न सोधिएको भनेर उनले आपत्ति जनाए। उनले अघि भने,‘म आफैँले पनि भोगेको र हिजो सम्माननीय प्रधानमन्त्रीज्यूलाई लक्षित गरेर सोधिएका प्रश्नका प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ ।

हिजो प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा सहभागिता भएर फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  संसद् भवन परिसरमा सोधिएका प्रश्नहरूप्रति सांसद थापाले आपत्ति जनाउँदै भने,’ ‘प्रधानमन्त्री ज्यु यहाँको प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा तपाईँ हिटलर हो ? भनेर प्रश्न गरियो । नेपालको संसद्ले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ?’ थापाको प्रश्न छ ।