५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले काँग्रेस मिलेर बनेको वर्तमान सरकार तोप नै हाने पनि नढल्ने बताएका छन् । आज लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले १७ महिना पछि काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरेका हुन् ।
उनले १७ महिनासम्म तोप नै हाने पनि आफू नेतृत्वको सरकार नढल्ने जिकिर गरे। ‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन । केही गरेपनि ढल्दैन । अथवा प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाइ छ के ढल्नु नि ? १७ महिनापछि आफैँ राजीनामा दिन्छु शेरबहादुरजीलाई दिन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
‘यो सरकार ढलिहाल्छ भन्नेलाई मैले भनेँ अब १७ महिना पनि बाँकी छ कि छैन मेरो । मलाई लाग्छ ७ महिना बितिसक्यो, अब १७ महिना म चलाउँछु, १७ महिनापछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री छाड्छु । यो त डिक्लियर छ । केपी ओलीलाई हराउनका लागि कुनै बल लगाउनु पर्दैन । आफैँ छाड्छ बेला पुगेपछि ।’प्रधानमन्त्री ओलीले भने। ‘
सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले आफूलाई कतै गएर मिलिदेला भन्ने कुनै आशङ्का नभएको भन्दै भने,’बलिया पार्टीहरू मिलेर बलियो सरकार बनाएको छ र स्थिरताका साथ डगमगाएको विश्वास पनि जगाएर लाग्नु छ,। काँग्रेससँगको सहमति अनुसार आफू लगभग ७ महिना प्रधानमन्त्री भइसकेको र अबको १७ महिनामा आफैँ छाड्ने उनको भनाइ छ।