राजनीति

काँग्रेस सम्मिलित एमाले सरकारले घुस दिनेलाई समात्ने, घुस लिनेलाई छोड्ने गर्‍यो : वरिष्ठ नेता कोइराला 

६ फागुन,काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले काँग्रेस सत्तापक्ष भए पनि आफूहरू सरकारमा नरहेको अभिव्यक्ति दिएका छन्। आज नेपाल प्रेस युनियनले काठमाडौँमा गरेको युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले सरकारमा भए पनि आफूहरू प्रतिपक्षमा भएको बताएका हुन्। 

वरिष्ठ नेता कोइरालाले भने, ‘हामी सरकार बाहिर छौँ, सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ हामी। हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ। हामी प्रतिस्पर्धी पनि हौँ, भोलिको राजनीतिमा एमालेको प्रतिस्पर्धी नेपाली काँग्रेस हो। हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ।’

कोइरालाले अहिलेको सरकार एमालेकरण भइरहेको त छैन भन्ने चिन्ता लागेको समेत बताए। ‘मलाई डर लागिरहेको छ, चिन्ता लागिरहेको छ यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ।’, 

यो सरकार सुशासन दिन्छ भनेर ल्याएको बताउँदै कोइरालाले भने,’हामीले सुशासनको लागी यो सरकार बनाएका हौँ  तर कस्तो सुशासन भने घुस दिनेलाई समात्ने, घुस लिने छोडिदिने रहेछ। महान्यायाधिवक्ताको क्रियाकलाप हेर्नुभयो भने उहाँलाई जुन अधिकार दिएको छ राज्यले त्यो अधिकारको दुरुपयोग भइरहेको छ, कता कता मलाई चिन्ता लागेको छ,’ उनले भने।

सरकार सञ्चालनको लागी बनेको राजनीतिक संयन्त्र प्रति लक्षित गर्दै उनले अघि भने,’ संयन्त्रले सरकार चलाउने कम्युनिष्टहरूमा मात्रै हुनसक्छ। साम्यवादी देशहरूमा मात्रै संयन्त्रले देश चलाउँछ। यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ। अब वडामा बाँकी छ। वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास गर्न खोजिरहनुभएको छ। लोकतन्त्रमा संयन्त्रले देश चलाउने होइन। कता कता न थाहा पाउने गरी एमालेकरण भइरहेको छ। ,’ 

नेता कोइरालाले सामाजिक सञ्जालसम्बन्धी विधेयक भर्खर संसद्मा गएको र छलफल हुन बाँकी नै रहेको बताए। सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति नै आघात पुग्ने उनको भनाइ छ। उनले भने ,’नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन। कुनै पनि हालतले यो विधेयक फिर्ता गरिकन स्टेक होल्डरहरूसँग छलफल गरी यो विधेयक ल्याउन जरुरी छ । यो सरकार बनाउने बेलामा हामी सबै लागेका थियौँ । देशमा सुशासन छैन, सुशासन दिन सकिन्छ, संविधान संशोधन गर्न सकिन्छ भनेर दुई ठुला दल मिलेर सरकार बनाऔँ भनेर लागेका थियौँ,’।

उनले संसद् बोलाउनु ६ दिन पहिला अध्यादेश ल्याइएको प्रति असन्तुष्टि जनाए। के कारणले ल्याएको, किन इमर्जेन्सी परेको हो भन्ने कुरामा सरकारले जबाफ दिनुपर्ने नेता कोइरालाको भनाइ थियो। ।