राजनीति

सभामुखले तीन पटक बोलाइरहे तर सुमनाले नसुने झैँ गरिदिइन्

६ फागुन, काठमाडौँ । आज बसेको  प्रतिनिधिसभाको बैठकमा  शून्य समयमा बोल्न नाम टिपाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बोल्न मानिनन्। उनलाई  सभामुख देवराज घिमिरेले बोल्नका लागि पटक पटक बोलाउँदा पनि  बोल्न नमानेकी हुन्। 

सभामुख घिमिरेले एमाले सांसद सुनिता बरालले आफ्ना कुरा राखेपछि सांसद श्रेष्ठलाई बोल्न समय दिए पनि उनी प्रतिनिधिसभा बैठकमै भएर पनि सभामुखले दिएको समयलाई बेवास्ता गरिदिइन् । 

सभामुख घिमिरेले उनलाई तीन पटकसम्म नाम बोलाएका थिए तर, उनले कुनै प्रतिक्रिया नदिएपछि सभामुखले माओवादी केन्द्रका सांसद सुशिला श्रीपाली ठकुरीलाई बोल्न समय दिएका थिए। भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे हिजै कुरा उठाउन खोज्दा सभामुख घिमिरेले समय नदिएको उनको गुनासो थियो । उनले त्यसैको साङ्केतिक विरोध गरेको अनुमान लगाउन सकिन्छ। 

हिजो बसेको बैठकको आकस्मिक समयमा सांसद श्रेष्ठले बोल्न समय माग गरे पनि सभामुख घिमिरेले समय दिएका थिएनन्। उनले सभामुखले आफूलाई बोल्न नदिएको भन्दै सञ्चारमाध्यम मार्फत आपत्ति जनाएकी थिइन् ।