७ फागुन,काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको पनि बताएका छन् । आज प्रजातन्त्र सेनानी सङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै उनले आरक्षणको सवालमा नेपाल अगाडि रहेको दाबी गरेका हुन्।
‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ । यो सम्पूर्ण नेपाली दाजुभाइहरूलाई समावेश गराउने खालको समावेशी राजनीति लागू भएको छ,’ सभापति देउवाले भने, ‘हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ । ३३ प्रतिशत महिलाको आरक्षण संसारको धेरै कम देशमा होला ।’
काँग्रेस पनि पूर्ण समावेशी पार्टी भएको र पार्टी मात्रै नभई देश नै समावेशी रहेको देउवाको भनाइ थियो ।
हाम्रो देशको संविधानमा आदिवासी जनजाति, मधेसी, थारु सबैको आरक्षण रहेको बताए। ‘हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ । हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ,’ देउवाले भने ।
२५ वर्षपछि हुन लागेको नेपाली काँग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी सङ्घको महाधिवेशन आजबाट १० गतेसम्म चल्नेछ । २०५३ सालमा पहिलो पटक प्रजातन्त्र सेनानी सङ्घको अधिवेशन भएको थियो । तीन वर्षे कार्यकाल हुने प्रजातन्त्र सेनानी सङ्घको दोस्रो अधिवेशन नियमित समयमा हुँदा २०५६ सालमा हुनुपर्ने थियो ।