७ फागुन, जुम्ला । यहाँको हिमा गाउँपालिका–५ स्थित कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार २८ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
यही फागुन ३ देखि ५ गतेसम्म सञ्चालित शिविरमा सात सय नौजना महिला र तीन सय १९ जना पुरुषले सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द भण्डारीले बताए ।
स्त्री तथा प्रसूति, हाडजोर्नी, नाक कान घाँटी, रेडियोलोजी, मानसिक, छाला र बाल रोगलगायत अन्य सेवाका २१ जना विशेषज्ञ चिकित्सकले शिविरमा सेवा दिएका थिए । १० जनालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । तीन दिने शिविर सम्पन्न पश्चात बाँकी औषधि तथा अन्य सामग्री प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
‘