९ फागुन, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेपछि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन्। उनले गरिबी माथिको अपमानबाट जोगिने हो भने आफ्नो देश आफैँ बनाउनु पर्ने भन्दै आफ्नो धारणा राखेका हुन् ।
महासचिव पोखरेलले ट्रम्पलेको उक्त निर्णय ‘गरिबी माथिको अपमान’ भनेरसमेत टिप्पणी गरेका छन्। त्यसैले उनले आफ्नो देश नेपाल आफैँ बनाउने अभियानमा जुट्न आह्वान गरेका हुन् ।
पोखरेलले फेसबुकमा लेखेका छन् ‘,विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हून भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि । गरिबी माथिको अपमानवाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौ र भनौँ –
‘हामी बनाउँछौ हाम्रो देश नेपाल’।
गत मङ्गलवार अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले नेपाललाई वित्तीय सङ्घीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको जानकारी दिएका थिए । त्यो ‘फ्रड’ भएकाले रकम रोक्नु परेको अभिव्यक्ति ट्रम्पले दिएका थिए ।
