९ फागुन, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्नु जायज भएको बताएका छन्। ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको बताएका हुन्।
अध्यक्ष नेपालले आफ्नो नेतृत्वमा एमाले फुटाएर नयाँ पार्टी गठन गरेका थिए। ,‘नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्यौँ र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्,’ उनले भने ।
नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध गर्ने पनि बताए । ‘हामीले बहुत न्यायोचित र जायज काम गर्यौ’ उनले भने, ‘कम्युनिष्ट आन्दोलनको रक्षा गरेर अगाडि बढाएर लैजानका लागि, आफ्नो क्रान्तिकारी दायित्व पूरा गर्नका लागि एकीकृत समाजवादी गठन गरेकोमा गौरवबोध गर्छौं ।’
एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको अध्यक्ष नेपालको दाबी थियो।
उनले आफ्नो पार्टीको बारेमा अनेकथरीका कुराहरू प्रचार भइरहेको बताउँदै कसैले एमालेसँग यो पार्टी मिल्न गयो भनेर कसैले माओवादीसँग मिल्न जाने भयो भनेर हल्ला गरेको भन्दै यस्ता अनेकथरीका कु-प्रचारको भ्रममा नपर्न आग्रहगरेका हुन्।