राजनीति

०८४ निर्वाचन कांग्रेस-एमाले लडुन्, हामी एक्लै जनतामा जान्छौँ : अध्यक्ष दाहाल

९ फागुन, कास्की । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीले पहिचान र अधिकारका मुद्दालाई कहिल्यै पनि नछाडेको बताएका छन् ।

पोखरामा आज तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले संविधान निर्माणका बेलामा पहिचानका सन्दर्भमा फरक मत दर्ज गरिएको उल्लेख गरे ।

“उत्पीडित वर्ग र जातिका अधिकारलाई सकेको जति संविधानमा लिपिबद्ध गरेका छौँ, गर्न नसकेका कुरामा भिन्न मत लेखेका छौँ । हामीले बीचमा हाम्रो वर्ग, समुदाय र हाम्रा मुद्दाहरू कमजोर गरी समात्यौँ । समात्न छाडेका त थिएनौँ, दरिलो गरी समात्न सकेका थिएनौँ । अब सबैको एकताबद्ध प्रयासले पहिचान र अधिकारको मुद्दालाई अगाडि बढाउछौँ”, अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालले पार्टी विसं २०८४ को आगामी निर्वाचनसम्म सरकारमा नजाने स्पष्ट पारे। उनले एक्लै चुनाव लड्ने र जनतालाई बलियो बनाएर बहमुत ल्याउने दाबी गरे । उनले भने, “कांग्रेस र एमालेले अर्को चुनाव मिलेर लडुन् । हामी एक्लै जनतामा जान्छौँ, जनताको तागतमा विश्वास गर्छौँ । तपाईहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।”

अध्यक्ष दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताए । उनले संविधान संशोधन गर्ने भए निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्थाका लागि संशोधन हुनुपर्ने बताए । “हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।”

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप भएको बताए । उनले समाजवादमा मात्र वर्गीय र जातिय समस्याको समाधान गर्न सकिने बताए ।

अध्यक्ष दाहालको नेतृत्वमा पार्टी अहिले एकताबद्ध रूपमा अघि बढाइने बताए । “राष्ट्रियता र समाजवादी क्रान्ति एकअर्कासँग निर्भर छन् । समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ । उत्पादनका साधनमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ”, उनले भने ।