१० फागुन, लुम्बिनी । महाशिवरात्रि तथा २६२औँ सेना दिवस २०८१ का अवसरमा नेपाली सेना तारा दल गण, बुटवलले आज यहाँ ‘रन फर फन २०८१’ प्रतियोगिताको आयोजना गरेको छ । नेपाली सेनाले सेना दिवसमा आयोजना गरेको यस प्रतियोगितामा मनोरञ्जन, स्वास्थ्य र सामाजिक सहभागितालाई महत्व दिइएको थियो ।
प्रतियोगितामा यस क्षेत्रका व्यावसायिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु र विद्यार्थी, खेलाडीहरु र सञ्चारकर्मीको सहभागिता थियो । दौड प्रतियोगिता १० किलोमिटर र पाँच किलोमिटर पुरुष र महिलाको अलग अलग प्रतिस्पर्धा गराइएको थियो । सोमध्ये पुरुषतर्फ १० किमी नेपाली सेनाको कृतिदल गणका अशोक सुनार प्रथम, गोरखदल गणका धीरज योगी द्वितीय र कालिशक्ति गण इञ्जिनियरिङका नवीन परियार तृतीय हुनुभएको छ ।
यस्तै महिलातर्फ १० किमी तारादल गणकी शर्मिला खड्का प्रथम, कृतिदल गणकी रेखा घर्ती द्वितीय र गोरखदल गणकी सुनिता विक तृतीय भएका छन् । प्रतियोगिताअन्तर्गत पाँच किमी पुरुषतर्फ शान्ति नमुना माविका रामु गौडेल प्रथम, उजिर सिंह माविका सविन सुनार द्वितीय र अक्सफोर्ड स्कुलका देवबहादुर क्षेत्री तृतीय भएका छन् । यस्तै पाँच किमी महिलातर्फ भने उजिरसिंह माविकी झरना परियार प्रथम, सैनिक आवासीय माविकी अनुष्का आचार्य द्वितीय र उजिर सिंह माविकी रचना अर्याल तृतीय भएका छन् ।
यस्तै पाँच किलोमटिर वाकथनतर्फ नेपाली सेनाका २२ नम्बर बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्का प्रथम भएका छन् । वाकथनमा रुपन्देहीका सरकारी कार्यालय प्रमुख, सुरक्षा निकायमा प्रमुख, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि, सामाजिक कार्यकर्ता र व्यावसायिक सङ्घसंस्थाका अगुवा सहभागी भएका थिए ।
विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल, सहायकरथी खड्का, बुटवल उद्योग वाणिज्य सङ्का अध्यक्ष हरिप्रसाद अर्यालले विजयीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।
शिवरात्रि र सेना दिवस पारेर नागरिकसित सम्बन्ध थप बिस्तार गर्ने र लागि ‘रन फर फन’ कार्यक्रम आयोजना गरिएको सहायक रथी खड्काले बताए ।
तारादल रामनगरका गणपति सुवर्ण खड्काले सुरक्षाकर्मी मात्र शारीरिक रुपमा तन्दुरस्त नरहेर आमनागरिक पनि आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने सन्देश दिन र नागरिकसित सेनाको सम्बन्ध विस्तारका लागि कार्यक्रम आयोजना गरिएको बताए ।





