१० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा प्रदेशहरूको सङ्ख्यामा हेरफेर हुनसक्ने बताएका छन्। शनिवार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुनसक्ने र कुरालाई सामान्य मान्नुपर्ने बताएका हुन्। उनले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने भन्दै यसलाई सामान्य मान्नु पर्ने बताएका हुन्।
नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनको भनाई थियो । उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे।
प्रधानमन्त्री ओलीले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधार गर्ने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए।
उनले भने, ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुन सक्दछ तर अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुन सक्दछन्। सात वटा प्रदेश ९ वटा पनि हुनसक्छ, सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छ। त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने आवश्यक छैन। ६ वटा पनि हुनसक्छ। त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो।’