राजनीति

अधिकांश एनजिओ एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार गरिएपनि तथ्य फरक छ :महासचिव पोखरेल 

१० फागुन, काठमाडौँ ।नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गैरसरकारी संस्था (एनजिओ)सँग एमाले र यसका नेतालाई जोडेर  प्रचार गरी पनि तथ्य फरक रहेको बताएका छन्। 

शनिवार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोस्ट गर्दै महासचिव पोखरेलले प्रचार गरिएभन्दा तथ्य फरक रहेको दाबी गरेका हुन् ।

‘नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ’ उनले लेखेका छन्, ‘त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकि तथ्य त्योभन्दा निकै फरक छ ।’

पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहेको जिकिर गरेका छन् ।

हेर्नुहोस् महासचिव पोखरेलको स्टाटस:

भ्रम र सत्य

नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा(एमाले)सँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकि सत्य र तथ्य त्यो भन्दा निकै फरक छ ।

बालबालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसङ्गमा भन्नु भएको सन्दर्भ मलाई यति वेला सम्झना भइरहेको छ । उहाँले भन्नु भएको थियो-

मानव अधिकार एलाइन्ससंग सम्बद्ध संस्थाहरूले विदेशबाट नेपालमा सञ्चालित गैर सरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन्। तर पनि एलाइन्समा आबद्धहरू आँखाको तारो बन्ने गरेका छन् । किनकि उनीहरू पारदर्शी रूपमा समुदायमा काम गर्दछन्। तर ८५ प्रतिशत भन्दा बढी अनुदान प्राप्त गर्ने संस्थाहरू खासै चर्चामा रहँदैनन् । किनकि उनीहरूमध्ये अधिकांश बन्द कोठामा काम गर्दछन्। उनीहरू के  काम गर्दछन् आम मानिसलाई थाह पनि हुँदैन ।

मलाई लाग्दछ ग़ैर सरकारी संस्थामा प्राप्त अनुदानको सत्य यस्तै होला । हल्ला गर्नेहरुले कुन संस्थाले कति रकम प्राप्त गरे भन्ने कुराको तथ्य पनि वुझ्न सक्नु पर्दछ । जहाँसम्म नेकपा(एमाले)को मूल नेतृत्वको कुरा छः- त्यो विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको छ ।

जहाँसम्म  नेकपा(एमाले)को कुरा छ: यो जनताका बिचमा हुर्किएको पार्टी हो । अहिले पनि जनताको रोजाइको पहिलो पार्टी यही नै हो । भविष्यमा राष्ट्रको निर्णायक शक्तिका रूपमा जन अनुमोदित हुने अभियानमा जुटेको छ ।