१० फागुन, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कलाकृति र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न जरूरी रहेको बताएका छन् । आजदेखि बुटवलमा सुरु भएको प्रदेशस्तरीय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उनले कलाकृति र सीपलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन सकिने भएकाले यसतर्फ लाग्न कलाकारलाई आग्रह गरे ।
लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको भन्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए । लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिने उनको धारणा थियो ।
मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । “कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति हो । यस्ता प्रदर्शनीले नेपाली ललितकला क्षेत्रको प्रवर्द्धन गर्दै नवप्रतिभाहरूलाई उत्प्रेरित गर्ने छ”, उनले भने, “विविध सांस्कृतिक सम्पदाको अभिव्यक्तिसँगै समाजका विभिन्न पक्ष उजागर गर्ने माध्यमका रूपमा यस्ता गतिविधि फलदायी साबित हुनेछन् ।”
मुख्यमन्त्री आचार्यले सरकारले भाषा, साहित्य, कला, संस्कृति र इतिहासको संरक्षण र विकासका लागि प्रज्ञा–प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइसकेको जानकारी गराए । उाले विधेयक तर्जुमा प्रक्रिया जारी रहेको र सबै पक्षलाई समेटेर ऐन तयार पारिने बताए ।