समाचार

समाजसेवी आचार्यको निधन

१० फागुन, गण्डकी । समाजसेवी लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा आज निधन भएको छ ।

लामो समयदेखि श्वासप्रश्वास रोगबाट पीडित आचार्यको आज बिहान पोखरा महानगरपालिका–१७ विरौटास्थित आफ्नै निवासमा निधन भएको परिवारका सदस्य देवराज आचार्यले जानकारी दिए । उनको आजै पोखरास्थित तुलसीघाटमा अन्त्यष्टि गरिएको छ ।

नेपाली कांग्रेस कास्कीका पूर्वसभापति आचार्यप्रति नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला, पूर्वसभामुख तारानाथ रानाभाट, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायत पार्टीका नेता तथा कार्यकता र सामाजिक अगुवाले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

विभिन्न सामाजिक सङ्घसंस्थामा महत्वपूर्ण सहयोग गरेका आचार्यले पोखरा महानगरपालिका–१७ मा नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउन रु ५० लाख ५५ हजार ५५५ आर्थिक सहयोग गरेको वडा पार्टी सभापति देवराज आचार्यले जानकारी दिए ।