११ फागुन, बाँके । जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसाको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ । करिडोरमा वन्यजन्तुको आहोरदोहोरको अवस्था, बासस्थान, संरक्षण, विविध गतिविधि अवलोक गर्ने उद्देश्यले यहाँ क्यामेरा जडान गरिएको हो ।
जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले उक्त क्यामेरा जडानबाट मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लामा दिगो वन व्यवस्थापनका थुपै्र कार्य डिभिजन वन कार्यालयको मातहतमा रहेका सबडिभिजन वन कार्यालयले गर्दै आएको बताए ।
उनका अनुसार राष्ट्रिय वन व्यवस्थापनअन्तर्गत सामुदायिक वनको काठ दाउरा सङ्कलन गर्ने काम गत कात्तिकदेखि जिल्लामा सुरु गरिएको छ । त्यस्तै सामुदायिक वनका समूह, पदाधिकारी, उपभोक्तालाई वन व्यवस्थापन तथा सुशासनका सम्बन्धमा, संस्था सञ्चालन प्रक्रियाका बारेमा जानकारी दिन अन्तक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
“जिल्लाका विभिन्न ठाउँमा गरी आठ वटा नर्सरीबाट स्थानीय मागअनुसारको उच्च मूल्यका बिरुवा उत्पादन गर्न सुरु भइसकेको छ”, वन अधिकृत गुप्ताले भने, “आठवटै नर्सरीमा आठ लाख बिरुवा उत्पादन गर्न सुरु भएको छ । कुनै ठाउँमा बिरुवा छर्ने तयारी गरिएको छ भने कुनै ठाउँमा बिरुवालाई प्लास्टिकमा राखेर सुरक्षित गर्ने काम गरिएको छ ।” सहरी क्षेत्रमा लगाउने बिरुवाहरू उत्पादन गरिएको पनि उनले बताए ।
राप्तिसोनारी–९ ढकेरीमा वनक्षेत्रको अतिक्रमण हटाएर बनाइएको उच्च प्रविधिको नर्सरीलाई श्रीखण्डको बिरुवा उत्पादनका लागि विशेष रूपमा निर्माण गरिएको डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिए । करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात टहरा हटाएर उक्त हाइटेक नर्सरी निर्माण गरी चालु आर्थिक वर्षदेखि श्रीखण्डको बिरुवा उत्पादन सुरु गरिएको उनले बताए । उनका अनुसार जिल्लामा आयआर्जनका लागि सामुदायिक वनमा लाहा खेती पनि सुरु गरिएको छ ।
बाघ तथा आहार प्रजातिको अनुगमन तथा संरक्षणका लागि वन परिसरका विभिन्न स्थानमा क्यामेरा जडान गरिएको गुप्ताले बताए । “हामीले यो स्तरको अनुगमनको काम कम्दी करिडोरमा गरेका थिएनौँ । यसले बाघको सङ्ख्या, घनत्व र आहारका विषयमा जानकारी दिनेछ । साथै बाघ र आहारका प्रजाति पनि के–कति छन् भन्ने जानकारी लिन सकिन्छ ।” यसरी क्यामेरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । उनका अनुसार कम्दी करिडोर भारत र नेपाललाई जोड्ने वन क्षेत्रका रूपमा मानिन्छ ।