राजनीति

सांसद पौडेलको प्रश्न : कुलमानलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ भनेर हल्ला गरिन्छ, उनको गल्ती के छ ?

१२ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवाद केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने भनेर प्रचार भइरहेको प्रति आपत्ति जनाएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा के भइरहेको छ भनेर प्रश्न सोधेका हुन्। 

उनले ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तो ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?’ भन्दै प्रश्न गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने भनेर प्रचार भइरहेको भन्दै उनले ‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ, पर्सि हटाइन्छ भनेर हल्ला गरेको सुनिन्छ कुलमानको के गल्ती छ।,’ भनेर सोधेका थिए। 

सांसद पौडेलले भने,‘उज्यालो नेपाल बनाएर के गल्ती गरे ? घाटामा गएको नेपाल विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे ? मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गल्ती गरे ? भारत र बङ्गलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले ?’ 

दुधकोशी जलविद्युत् आयोजनाका सीईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि निष्कासन के गरेको हो भनेर पनि उनले सोधेका छन्। ऊर्जामन्त्रीको आलोचना गरेको कारण जिम्मेवारीबाट हटाएको भनेर पत्र सार्वजनिक भएको उनले बताए ।