१२ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झापा अहिले प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा देखिएको बताएका छन् । ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ उद्घाटन गर्न झापा पुगेका दाहालले हिजो विद्रोहको केन्द्र बनेको झापा अहिले प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा रहेको टिप्पणी गरेका हुन्।
गृहजिल्ला झापा रहेका एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिँदै अध्यक्ष दाहालले भने, हिजो झापाको सशस्त्र विद्रोह ठिक रहेको तर, अहिले त्यो धारका नेता वा त्यो सङ्गठन र त्यसको नेतृत्वले पुँजीवादी धारतिर गइसकेको र क्रान्तिको धार छोडिसकेको बताए।
उनले त्यो खतरा रोक्न झापाबाटै खबरदारी अभियान थालिएको बताए । चितवनबाट झापा बसाइ सरेर वामपन्थी आन्दोलनलाई अघि बढाउने नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र बेदनिधि निरौलालाई घरमै पुगेर सम्मान गरेका दाहालले जनताको तागतबाट झापालाई पुनः क्रान्तिको केन्द्रमा फर्काउन पर्ने बताए ।
झापालाई फेरि क्रान्तिकै केन्द्र बनाउनका लागि जनतासँग अपिल गर्न आफूहरू यहाँ आएको उनको भनाइ छ।