अन्तर्राष्ट्रिय

झन्डै ७० करोड नेपाली रुपैयाँ पर्ने ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा बिक्री गर्दै अमेरिका 

१४ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलर पर्ने ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा बिक्रीको सुरुवात गरेका छन्। नेपाली झन्डै ७० करोड रुपैयाँ पर्ने भिसा कार्यक्रमको घोषणा गरेका हुन्। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनका अनुसार ट्रम्पले उक्त कार्यक्रम हिजो घोषणा गरेका हुन् ।  धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्ने अमेरिकाको लक्ष रहेको छ । यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनुको साथै नागरिकता पाउनेलाई पनि सहज हुने बताएको छ। 

ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौँ कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ।

ओभल अफिसबाट कार्यक्रम घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भने ‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं, तपाईँहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ। हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौँ, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन्।’

अमेरिकाले रुसी अरबपतिहरूलाई पनि यो कार्ड बिक्री गर्ने योजना बाएको छ ?’ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भने, ‘हो, सम्भव छ। म केही रुसी अरबपतिहरूलाई चिन्छु, उनीहरू निकै असल व्यक्ति हुन् ।’