१५ फागुन, विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घका दुई समूहबिच झडप भएको छ। उक्त झडपमा परी मोरङका सभापति सरोज पोखरेलसहित दुई जना घाइते भएका छन्।
क्याम्पसमा नेविसंघकै देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबिच कुटाकुट र झडप भएको हो। घटनामा नेविसंघ मोरङ सभापति पोखरेल र अर्का सदस्य आयुष दाहाल घाइते भएका छन्। उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको छ।
आउँदै गरेको स्ववियु निर्वाचनको विषयलाई लिएर केही दिनअघि देखि नै यी दुई समूहको बिचमा विवाद हुँदै आएको थियो। बिहीबार बिहान स्ववियु निर्वाचनको भागबन्डा मिलाउने बारेमा आयोजना गरिएको छलफलको क्रममा हात हालाहाल भएको थियो।
काँग्रेसको संस्थापन पक्षका स्ववियु सभापति जसवन्त पौडेलको नेतृत्वमा रहेको समूहले शेखर कोइराला समूहलाई कुटपिट गरेको बताइएको छ। उक्त समूहले हातहतियार सहित कुटपिटमा उत्रिएको पाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।