१८ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाएका छन्। आजबाट सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा पेस भएको यादवको राजनीतिक प्रतिवेदनमा गठबन्धन सरकार प्रभावहीन बन्दै गएको टिप्पणी गरेका हुन् ।
भ्रष्टाचारका ठुला काण्डमा सरकारमा सहभागी दलका नेता र तीनका परिवारका सदस्य संलग्न भएको प्रमाण भेटिँदा पनि सरकार मौन भएको उनको आरोप छ।
प्रतिवेदनमा भनिएको छ,’सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरू नै ठुला-ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यस विरुद्ध सरकार मौन छ,सरकार पूर्वाग्रही हिसाबले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण कार्य गरिरहेको छ। सरकारले ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरू दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ।’
सार्वजनिक भएको राजनीतिक प्रतिवेदनमा उनले भनेका छन् ‘सरकारप्रति जनतामा नैरास्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना नरहेको टिप्पणी गरेका छन्।
त्यस्तै उनले केपी ओली नेतृत्वको सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसकेको, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन वृद्धि र रोजगारी सृजना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाएका हुन्।
सरकारले समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको यादवले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले यो सरकार असफल र असक्षम साबित भइसकेको उनको भनाइ छ।