समाचार

सहज वातावरण बनाएर पाथीभरामा केबलकार निर्माण गर्नुपर्ने एमाले सचिवालयको निष्कर्ष 

१८ फागुन, काठमाडौँ ।  नेकपा (एमाले)ले ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्न बनाउन लागिएको केबलकार निर्माणलाई सहज रूपमा अघि बढाउन सरोकारवाला पक्षसँग छलफल गर्ने  निर्णय गरेको छ। आज आइतबार बसेको एमाले सचिवालयको बैठक पछि महासचिव शङ्कर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिँदै यस्तो निर्णय भएको बताएका हुन्। 

मुक्कुमुलुङमा आईएमई ग्रुपले निर्माण गरिरहेको केबलकार खारेजीको माग गर्दै धार्मिक अभियन्ताहरूले काठमाडौँमा पदयात्रा गरिरहँदा एमाले सचिवालय बैठकले भने सहज वातावरण बनाएर केबलकार निर्माण कार्य अघि बढाउनुपर्ने निर्णय गरेको हो। 

‘पाथीभरामा केबलकारका सन्दर्भमा देखिएको विवादबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र सरोकारवालाबिच छलफल गरेर निर्माण अघि बढाउनुपर्छ’, एमाले महासचिव पोखरेलले भने, ‘केबलकार निर्माणका लागि सहज वातावरण बनाउन पार्टीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

उनले अहिले देखिएको केबलकार निर्माण विवादबारे बैठकले गम्भीरताका साथ लिएको पनि बताए।