राजनीति

सभापति देउवाको निर्देशन: ‘एउटामात्रै  दलले बहुमत ल्याउने अवस्था छैन, धेरैभन्दा धेरै सिट जित्ने गरी तयारीमा लाग्नुस्’ 

१९ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एउटा मात्र दलले बहुमत ल्याउने परिस्थिति नभएकोले अबको चुनावमा धेरै सिट जित्ने गरी तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। 

आजबाट भैरहवामा सुरु भएको प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अघिल्लो निर्वाचनको भन्दा धेरै सिट जित्न आम नेता कार्यकर्तालाई त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन्। 

सभापति देउवाले पार्टीमा केही असहमति भए त्यसलाई छलफलका  माध्यमबाट समाधान गर्दै पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताए । 

‘हामी बिचमा कतिपय कुरा नमिलेका हुन सक्छन् । यी सबै कुराहरूलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेट पार्टीका रूपमा अगाडि बढाउन सक्नुपर्दछ,’ देउवाले भने ।

उनले नेताहरूबिच एकता कायम हुँदा पार्टीप्रति आकर्षण बढ्ने बताए । नेताहरूको एकताले  देशभित्र बाहिर सबैतिर पार्टीप्रति अझ बढी आकर्षण बढ्नेमा सभापति देउवाको विश्वास रहेको छ।