२१ फागुन, काठमाडौँ । सर्वोच्च अदालतमा जारी विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटको सुनुवाइ नसकिए पछि हेर्दाहेर्दैमा रहेको छ। अब अर्को पेसी पछि चैत ६ गतेलाई तोकिएको छ।
आज वरिष्ठ अधिवक्ता शम्भु थापा, डा भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, राजु प्रसाद चापागाईँ, मोहना अन्सारीलगायत ७ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका थिए। रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले अर्को पेसी चैत ६ लाई तोकिएको जानकारी दिए। यसअघि गत माघ ३० गते निवेदक अर्याल र उनका तर्फबाट वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए। उक्त दिन पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।
सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जनाले बहस गर्ने छन्।
अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा ५२ जनालाई गरेको नियुक्ति गैर कानुनी रहेको भन्दै बदर गर्न निवेदकले माग गरेका छन्।
२०७७ पुस १ गते वरिष्ठ अधिवक्ता अर्यालले यी ५२ जनाकै नियुक्ति गैर कानुनी भन्दै बदर गर्न माग गरेर रिट दायर गरेका थिए।