२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकको विशेष समयमा सांसद मेटमणि चौधरीले स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्ने सम्बन्धमा सरकारले कुनै पहल नगरेको भन्दै यथाशीघ्र समस्या समाधान गर्नुपर्नेमा जोड दिए । स्वर्गद्वारी गुठीको समस्या समाधान गर्न सदनको पनि ध्यानाकर्षण गराउँदै यससम्बन्धी तत्काल कानुन ल्याउनु जरुरी रहेकामा जोड दिँदै उनले कानुन अनुसार कदम चाल्न सरकारको पनि ध्यानाकर्षण गराए ।
सांसद रञ्जुकुमारी झाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नियमअनुसार महिलाले सचिव हुने अवसर आएको बेला त्यसो हुन नसकेकामा गुनासो गरे । उनले कुनै पनि अर्थमा महिलालाई अवसरबाट वञ्चित गराउने काम नगर्न÷नगराउन सम्बन्धि सबैलाई आग्रह गरे ।
सांसद अब्दुल खानले नक्कली नोट छाप्ने र ठगी गर्ने गिरोहका नाइकेलाई सप्तरीको स्थानीय प्रशासनले चासो देखाउन नसकेको भन्दै आपत्ति प्रकट गरे । उनले बर्दियाका नागरिकले स्वास्थ्य सुविधा पाउन नसकेका गुनासो आइरहेका भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रेखा यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नियमअनुसार डा सङ्गीता मिश्रलाई सचिवमा बढुवा नगरिएकामा आपत्ति प्रकट गरे । उनले डा मिश्रको नाम पहिलो नम्बरमा सिफारिस हुँदासमेत सचिव नबनाएर समावेशिताको सिद्धान्त पालना नभएको आरोप लगाए ।
सांसद रामप्रकाश चौधरीले केही दिन पहिले जङ्गली हात्तीको समूहले लालबन्दीमा किसानको खेतीबाली नष्ट पारेकाले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे । उनले स्थानीय किसानद्वारा उत्पादित तरकारीको प्रशोधन गर्ने उद्योग र चिस्यान केन्द्र कोल्डस्टोरको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रेम सुवालले आफूहरू सत्तापक्ष र प्रतिपक्षको खबरदारी गर्दै सच्चा रूपमा प्रतिपक्षीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै सहिदको वास्तविक सम्मान हुने वातावरण बनाउनुपर्ने बताए । मानवअधिकारको गम्भीर उल्लङ्घन गर्नेलाई सरकारले कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।
सांसद चित्रबहादुर केसीले नेपाल प्राकृतिक दृष्टिले सम्पन्न मुलुक हो भन्दै प्राकृतिक स्रोत तथा साधन उपयोग गर्नुपर्ने, ठूलो मात्रामा रहेको यूरोनियमको भण्डारलाई सदुपयोग गर्नुपर्ने बताए ।