२२ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई हाजिर नगराउने भन्दै मन्त्रालयलाई पत्र लेखेका छन्।
हिजो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट गुरागाईँलाई काम गर्ने वातावरण बनाउन र निरन्तरता दिन भन्दै काठमाडौँ महानगरमा पत्राचार गरेको थियो।
जवाफमा महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन र त्यतिन्जेलका लागि निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन माग गर्दै पत्र लेखेको हो।
मन्त्रालयले पत्राचार गरे लगत्तै उक्त पत्रलाई अस्वीकार गर्दै महानगरबाट जवाफी पत्राचार भएको हो ।
मूल सम्झौताको आधारभूत सर्त, भवन मापदण्ड तथा भवन संहिता समेत विपरीत हुने गरी आधिकारिक तहमा विचाराधीन विषयमा त्रुटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजना लगायत अन्य कार्यहरू समेतमा नकारात्मक प्रभावका साथै कानुनी झन्झट हुनेछ,’ महानगरले मन्त्रालयलाई लेखेको पत्रमा छ ।
