समाचार

एमडीएमएस भ्रष्टाचार प्रकरण : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

२३ फागुन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो । एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएका थिए । पूर्वअध्यक्षद्वय झा र खनाल बाहेक प्राधिकरणका अरू कर्मचारीहरूले भने सफाइ पाएका छन् ।

भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्क्रिय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भनी अख्तियारले पुस, २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले एमडीएमएस उपकरण खरिदमा संलग्न कम्पनीहरू मलेसियाको न्यूमेरा कम्पनी, नमस्ते ग्लोबल सिंगापुर, ओएसआई डिजिटल इन्डिया विरुद्ध पनि मुद्दा दायर गरेको थियो । उक्त कम्पनी बाहेक अरूमाथिको आरोप स्थापित हुन सकेन ।

अख्तियारले ठेक्का भएको रकम ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरे पनि विशेष अदालतले भुक्तानी भएको रकम २३ लाख २० हजार  मात्रै भ्रष्टाचार ठहर गरी त्यसै अनुसार बिगो माग गरेको हो ।