२४ फागुन, रौतहट । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूले देशमा पुनः राजा फर्काउने भनेर हल्ला चलाए पनि त्यो सम्भव नभएको बताएका छन् । ‘जनतासँग माओवादी : तराई मधेस जागरण अभियान’ अन्तर्गत आज बिहान रौतहटको गरुडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
‘ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । मैले त मूर्खता नै भन्छु ,अब अहिले पनि फेरि मूर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन् ।’ अध्यक्ष दाहालले भने।
तत्कालीन राजा ज्ञानेन्द्रलाई नेपाली जनताले त्यति बेला कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको दाहालको दाबी गर्दै उनले भने ,’त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनताले त्यो सहँदैनन् ।’
देशमा फेरि राजा फर्किन असम्भव रहेको र पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न अध्यक्ष दाहालले चुनौती दिएका छन्।