अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पले भने: शान्ति सम्झौताका सन्दर्भमा रुससँग भन्दा युक्रेनसँग व्यवहार गर्न बढी गाह्रो भयो 

२४ फागुन, काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग भन्दा युक्रेनसँग व्यवहार गर्न ‘बढी गाह्रो’ भएको बताएका छन्।

बिबिसीका अनुसार ट्रम्पले शुक्रवार रुसलाई नयाँ प्रतिबन्ध र कर लगाउनेबारे गम्भीरतापूर्वक विचार गरिरहेको बताएको केही बेरपछि युक्रेनप्रति शान्ति सम्झौताका सन्दर्भमा असन्तुष्टि व्यक्त गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। 

‘रुसले युद्ध क्षेत्रमा युक्रेनलाई कडा प्रहार गरिरहेको छ’, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यस तथ्यका आधारमा, म युद्धविराम र अन्तिम शान्ति सम्झौता नभएसम्म रुसलाई ठुलो मात्रामा बैङ्किङ प्रतिबन्ध, प्रतिबन्ध र शुल्क लगाउनेबारे गम्भीरतापूर्वक विचार गरिरहेको छु।’

यही फागुन १६ गते ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा चर्काचर्की परेको थियो। सोही कारण दुई देशबीच मनमुटाब बढेको थियो। यस क्रममा अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गुप्तचर जानकारी दिन पनि बन्द गरेको छ।

तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घटनाप्रति दुःख व्यक्त गर्दै देशको सबैभन्दा ठुलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्।