समाचार

स्रोत र साधनले भ्याएसम्म भूकम्पपीडितलाई सहयोग जारी छ : गृहमन्त्री लेखक

२४ फागुन, अछाम । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएका छन्।

अछाम जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको आज उद्घाटन गर्दै उनले स्रोत र साधनले भ्याएसम्म सरकारले भूकम्पपीडितलाई सहयोग गरिरहेको बताए ।

गत वर्षको कात्तिकमा भएको भूकम्पबाट प्रभावित भएकालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको उक्त एकाइले अछाम, बाजुरा र डोटीका नागरिकलाई सघाउने छ ।
नवस्थापित एकाइमार्फत पीडितलाई आवास निर्माण तथा मर्मतससम्भारका काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै लाभग्राहीलाई द्रुत सेवा प्रवाह गर्न उनले प्रमुख जिल्ला अधिकारीलगायत सम्बद्ध कर्मचारीलाई निर्देशन पनि दिए ।

भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनर्निर्माणअन्तर्गत पहिलो किस्ता बापत प्रतिघर रु ५० हजार प्रदान गरिएको छ । एकाइ स्थापनासँगै लाभग्राहीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख भीष्मकुमार भुसाल, प्रदेशसभा सदस्य मानबहादुर रावल, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित थिए ।