राजनीति

ज्ञानेन्द्र शाहीलाई रिमालको जवाफ : ‘मलाई यस्ता नालायकहरूसँग सवालजवाफ गर्नु छैन’ 

२६ फागुन, काठमाडौँ।  नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले लगाएको आरोपको  खण्डन गरेका छन्।

 पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौँमा आयोजित र्‍यालीमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रिमालले राख्न लगाएको आरोप लगाएपछि जवाफ फर्काएर खण्डन गरेका हुन्। 

शाहीले प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका रिमाललाई फेसबुकमा स्टाटस लेखेर ट्याग गर्दै योगी आदित्य नाथ र पूर्वराजा ज्ञानेन्द्रको तस्बिर सँगै राख्न लगाएको आरोप लगाएपछि रिमालले फेसबुक मार्फत नै जवाफ फर्काएका हुन्। 

उनले लेखेका छन्,‘पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्,पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्।’

एमाले उपमहासचिव रिमालले अगाडि लेखेका छन्, ‘डिसइन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटि एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवालजवाफ गर्नु छैन। कसले कहाँ के गर्दै छ- समाचार त आएकै छ नि!’