समाचार

जनप्रशासन क्याम्पसमा क्रान्तिकारी र नेविसङ्घबीच गठबन्धन, अनिकेत सभापतिका उम्मेदवार

२७ फागुन, काठमाडौँ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि जनप्रशासन क्याम्पस बल्खुमा नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ, अखिल क्रान्तिकारी र नयाँशक्ति विद्यार्थी युनियनबीच गठबन्धन भएको छ ।

जसअनुसार अखिल क्रान्तिकारीका अनिकेत तिवारी सभापतिको उम्मेदवार भएका छन् । तिवारी क्याम्पसको वर्तमान स्ववियु कार्यसमितिका उपसभापति छन् । प्रत्यक्षतर्फ नेविसङ्घले सचिव र कोषाध्यक्ष पद पाएको छ । जसमा विनोद ऐर र संयोगमणि अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रत्यक्षतर्फ अखिल क्रान्तिकारीले सभापतिसहित चारवटा सदस्य पद पाएको छ भने नेविसङ्घले सचिव, कोषाध्यक्ष सहित ३ सदस्य पाएको छ । त्यसैगरी नयाँशक्ति विद्यार्थी युनियनले एक सदस्य पद पाएको छ ।

त्यसैगरी एमाले निकट अनेरास्ववियूबाट अग्रबहादुर शाहीले सभापतिको उम्मेदवारी दिएका छन् भने शङ्खर दुबे सचिवको उम्मेदवार बनेका छन्। त्यस्तै समानुपातिकतर्फ नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेकपा एस निकट अनेरास्ववियू, स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय एकता विद्यार्थी युनियनले उम्मेदवारी दर्ता गराएका छन् ।

जनप्रशासन क्याम्पसले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ ३२ जना र प्रत्यक्षतर्फ २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।