खेलकुद

वुमन्स डे कप : नेपालले हङकङलाई ६ विकेटले हरायो 

१ चैत, काठमाडौँ। युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज नेपालले हङकङमाथि  सान्त्वना जित निकालेको छ। सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले ६ विकेटको जित निकालेको हो। 

ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए।

पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन्। हङकङका इमा लाई र काउर महेकदीपले एक एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले ८ विकेटको क्षतिमा १०४ रन बनाएको थियो। हङकङकका लागि ओपनर सान्जिन शाहजादले अर्धसतक बनाइन्। उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाइन्। 

चाल का इङले २९ बलमा १६ र यासमिन दासवनीले १५ बलमा १४ रनको योगदान गरिन्। उनले एक चौकाको मद्दतमा उक्त स्कोर बनाएकी हुन्। हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि राजमती ऐरीले ३ विकेट हात पारिन्। उनले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएकी हुन्। इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिए।

यसअघि हङकङले नेपालसँगको पहिलो खेल २ रनले जितेको थियो। १०१ रनको लक्ष्य पछ्याएको नेपाल ९८ रनमा समेटिएको थियो। फाइनलमा पुग्न असफल नेपालले ६ खेलमा २ खेल जित्यो। यसअघि युगान्डालाई १ विकेटले पराजित गरेको थियो। 

हङकङको भने फाइनल पुग्ने सम्भावना बाँकी छ। युगान्डा, नामिविया र हङकङमध्ये दुई टोली फाइनलमा पुग्नेछन्। आजै नामिविया र युगान्डा भिड्नेछन्। यो खेलको विजयी टोली फाइनलमा पुग्नेछ भने बाँकी दुई टोलीमध्ये एउटा नेट रनरेटका आधारमा फाइनलमा पुग्नेछ। 

त्यसअघि समान ६ अंक भए पनि नामिबिया शीर्षस्थानमा र युगान्डा दोस्रो तथा हङकङ तेस्रो स्थानमा छन्।